अर्थमन्त्री भएर आएकै दिनदेखि अर्थतन्त्रको सुधारमा लागिपरेको छु : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकारले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका छन्।

बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्री भएर अर्थ मन्त्रालमा आएको दिनदेखि अर्थतन्त्रमा देखिएका चुनौती र समस्या समाधानको लागि अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका हुन्। उनले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिबद्धता जनाए। उनले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए। उनले सबै अफ्ठ्याराहरू पार गरेको अवस्था अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको बताए।

मन्त्री पौडेलले अर्थमन्त्री भएर आएदेखि मन्त्रालयको कार्यसम्पादन, अभ्यास र अनुभवहरू मुलुकको अर्थतन्त्रका बारेमा सूक्ष्म ढंगले अध्ययन गरिरहेको, अर्थतन्त्रको समस्याको सार्थक र निर्णायक प्रहार गर्दै समाधानका साथ उपायहरू खोजिरहेको बताए। उननले अर्थमन्त्री भएर आएपश्चात निजी क्षेत्रका समस्याहरू समाधान गर्ने प्रयासहरू गरिएको बताए। उनले अर्थतन्त्रका समस्याका कारणहरू सूक्ष्म विवेचना र विश्लेषण गर्दै समाधान गरी नेपाली अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशील बनाएर अगाडि बढाउने संकल्पमा रहेको बताए।

मन्त्री पौडेलले राजस्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताए। उनले पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभावलगायतका समस्या समाधान गर्ने बताए। उनले उत्पादनमूलक क्षेत्रको खर्च बढाउने, अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ सरकार लागेको बताए।

मन्त्री पौडेलले सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्न तयार रहेको बताए। उनले निजी क्षेत्रलाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि सरकार निजी क्षेत्र मिलेर सबै समस्या समाधान गर्ने गरि अर्थतन्त्रलाई सही दिशामा ल्याउने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *