मापसे गरेर सशस्त्रका पूर्वएआईजी जितबहादुर पुनको गाडीलाई ठक्कर दिने ४ जना पक्राउ

मादक पदार्थ सेवन गरी सशस्त्र प्रहरीका पूर्वएआईजी जितबहादुर पुनको गाडीलाई ठक्कर दिने ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट घर भई काठमाडौंको सामाखुशी बस्ने ५५ वर्षीय मीनबहादुर घले, पर्वत घर भई सामाखुशी बस्ने ५३ वर्षीय जीवन गुरुङ, सुकेधारा बस्ने ४३ वर्षीय सुजन अर्याल र थानकोट बस्ने ३३ वर्षीय अनुप कार्की रहेका छन्।

उनीहरूलाई शुक्रबार मध्यराति १२ बजे महाराजगञ्जस्थित भाटभटेनी नजिकबाट प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

उनीहरू सवार बागमती प्रदेश– ०१–०२६ च ८८४३ नम्बरको सेतो बीवाईडी गाडीले सशस्त्र प्रहरीका अवकाशप्राप्त एआईजी पुनको बा.२७ च ४१९८ नम्बरको हाइलेक्स गाडीलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार उनीहरू चारै जनाले मादक पदार्थ सेवन गरेका थिए।

नयाँ बसपार्कबाट गोंगबुतिर होहल्ला गर्दै हिँडेका उनीहरू सवार गाडीले बीजी मलस्थित सडकका डिभाइडरलाई पनि हानेको थियो। यस्तै गोंगबुको ट्राफिक आइल्याण्डमा पनि ठक्कर दिएको थियो। र, तीव्र गतिमा आइरहेको पूर्वएआईजी पुनको गाडीलाई ठक्कर दिएको थियो। पुनको गाडीलाई ठक्कर दिएर नारायणगोपाल चोकतर्फ गएको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले पक्राउ गर्न खटिएको प्रहरी टोलीलाई समेत अश्लील शब्द प्रयोग गर्दै गालीगलौच गरेको जनाइएको छ। प्रहरीले उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर