निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन्।

इटहरी उद्योग वाणिज्य संघको २३औं र २४औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला, नगर उद्योग व्यवसायी संघहरूसँग महासंघ साथसाथै रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदैछु। म यहाँहरूसँग के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने तपाईंहरुले उठाउने हरेक एजेण्डामा महासंघको साथ र समर्थन रहने छ। म व्यक्तिगत रुपमा पनि तपाईहरुसँगै हुनेछु। जिल्ला, नगरका व्यवसायी साथीहरुले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,’ उनले भने।

ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले कर्जाको ब्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताए।

‘कर्जाको व्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन। यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरूको प्रभाव रहन्छ। केही समय पहिलेको दुई-तीन प्रतिशतको निक्षेपको व्याजदर अहिले १०/११ प्रतिशत पुगेको छ । त्यसैले कर्जाको व्याजदर स्वतः बढेको हो,’ उनले भने।

उनले आफूलाई बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैंक व्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताए।

‘म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो। तर, बैंकको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ। त्यसैले बैंकले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ। ब्याजदर घट्दा मलाई पनि राहत हुन्छ,’ उनले भने।

उनले केही व्यवसायीहरूले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरी बढेको समेत उल्लख गरे।

उनले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधै सफल हुने बताए।

‘मैले व्यवसाय गर्दा तीनवटा कुराहरुमा विशेष ध्यान दिने गरेको छु। पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिकरुपमा सम्भावना रहेको क्षेत्र,’ उनले भने।

उनले भने, ‘आफूहरूले सातवटा प्रदेशमा सातवटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर