नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्ड

नेपालको दुई दिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न उपविदेशमन्त्री नुल्यान्ड सोमबार बिहान बालुवाटार पुगेकी थिइन्।

भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरे।

सो अवसरमा उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिएकी थिइन्।

उपविदेशमन्त्री नुल्यान्डले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नेछिन्।

 


उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमणबारे ट्विट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनले उपविदेशमन्त्री नुल्यान्डले नेपालका शीर्ष नेताहरूसँग भेटेर आर्थिक सुरक्षा, कूटनीतिक लचकतालगायत विषयमा छलफल गर्ने जानकारी दिएका छन्। उनले नेपालसँगको ऐतिहासिक सम्बन्ध उच्चस्तरीय आदानप्रदानबाट सुदृढ भएको पनि उल्लेख गरेका छन्।

नेपालमा मंसिर ४ मा सम्पन्न आमनिर्वाचनपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

को हुन् नुल्यान्ड?
नुल्यान्डले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी थिइन्। त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन्।

उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन्।

३३ वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेशमन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत थिइन्। उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन्। भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन्।

उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन्। उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मंगोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहदामा रही काम गरिसकेकी छन्।

उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर