शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ। म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।’

सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको भन्दै दुःख र सुखमा आफू साथसाथै रहेको प्रचण्डले बताए। उनले भने, ‘जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनाशलगायतका सबै पीडामा म तपाईंहरू सँगसँगै छु। तपाईंहरूसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छु। आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईंहरूकै साथमा हुनेछु।’

नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको भन्दै उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए। उनले भने, ‘निजीक्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।’

कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर