देशको फाइदा हुने गरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्यसचिव वैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सूचना प्रविधिको सही प्रयोग गर्न आग्रह गरेका छन्। देशलाई फाइदा हुने गरी हरेक निकायले त्यसको ठिक ढंगले प्रयोग गर्नुपर्ने मुख्यसचिव वैरागीको भनाइ छ।

मुख्यसचिव वैरागीले सूचना प्रविधिको सही प्रयोग नभए त्यो हरेकका लागि खतरानाक सावित हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पारे। शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव वैरागीले सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी मुलुकमा सुशासन ल्याउन एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको पनि औंल्याए।

उनले सूचना प्रणालीको प्रयोग गर्दा यसको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए। सूचना प्रविधिको प्रयोगले जनतालाई सशक्त बनाउने भएकाले यसको प्रयोग पनि सोही अनुसार हुनुपर्ने उनले बताए।

कार्यक्रममा बोल्दै अर्थसचिव तोयम रायाले सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउनका लागि आफूले छुट्टै मन्त्रालयको आवश्यक्ता देखेको बताए। उनले सूचना र प्रविधिको बजार क्षण भरमै फेरिने भएकाले त्यसको व्यवस्थापन गर्ने कार्य चुनौतिपूर्ण रहेको स्पष्ट पारे।

अर्थसचिव रायाले सूचना प्रविधिको प्रयोगका लागि बजेटको अभाव हुन नदिन पनि ध्यान दिनुपर्ने बताए। उनले सूचना प्रविधिको बजारमा नेपालको प्रवेश सहज नभएकाले त्यसतर्फ पनि गम्भीर भएर सोच्नुपर्ने बेला आएको स्मरण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर