राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छः माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य र लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए । उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताए । उनले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताउनु भयो ।

‘पार्टी संगठनबारे छलफल भयो, २ महिना सबै फिल्डमा जाने, पार्टी पंक्ति बाहेक जनता पनि भेटेर २ महिना पछि त्यसको रिपोर्टसहित केन्द्रिय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ । किनभने २ महिना भित्रमा राष्ट्रपतिको चुनाव, उपराष्ट्रपतिको चुनाव जे हुने भइसक्छ । त्यसपछि हामी केन्द्रिय समितिको बैठक बसेर अघि बढ्छौँ । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो । समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ,’नेता पौडेलले भने ।

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताए । उनले पार्टी संगठन सदृढीकरणका लागि दुई महिने संगठन सुदृढीकरणको अभियान चलाउने बताए । यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताए ।

उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर