साफ यू-२० महिला फुटबलमा आज नेपालले भारतसँग खेल्दै, फाइनल पुग्न जित्नैपर्ने दबाब

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्दै छ।

ढाकामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपाल भारतलाई हराएर फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नैपर्ने बाध्यता छ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएर उपाधि दौड कायम राखेको थियो। नेपाल अहिले दुई खेलबाट तीन अंक जोड्दै तेस्रो स्थानमा छ। चार अंक बनाएको भारत शीर्ष स्थानमा छ।

भारतलाई फाइनल पुग्न बराबरी नतिजा पनि पर्याप्त छ। दोस्रो स्थानमा रहेको आयोजक बंगलादेशको पनि चार अंक छ। दुवै खेलमा हार खेपेको भुटान अन्तिममा छ। आजै अर्को खेल बंगलादेश र भुटानबीच हुनेछ।

बंगलादेश र भुटानको नतिजाले पनि फाइनल पुग्ने समीकरणको तय हुनेछ। चार टोलीबीच राउण्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *