प्रहरी निरीक्षक नेपाल प्रहरीको मेरुदण्ड : निमित्त प्रहरी महानिरीक्षक थापा

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘प्रहरी विज्ञानमा स्नातकोत्तर डिप्लोमा (पीजीडीपीएस)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औं समूह (पीजीडीपीएस १३औं ब्याच) को सोही प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक आधारभूत तालिमअन्तर्गत सञ्चालित यो कोर्सबाट सामाजिक रूपमा उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको उल्लेख गरे।

प्रहरी निरीक्षक दर्जा नेपाल प्रहरीको मेरुदण्ड भएकाले प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोड्न अहम् भूमिका निर्वाह गर्ने चर्चा गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रशिक्षार्थीहरूले यस्तो महत्त्वपूर्ण जिम्मेवारीलाई हृदयंगम गर्दै भविष्यमा कुशल प्रहरी अधिकृतको रूपमा व्यावसायिक कार्यसम्पादन गरी संगठन तथा राष्ट्रको लागि महत्त्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रूपान्तरणका लागि पूर्ण वफादारिताका साथ तालिम सम्पादन गर्ने विश्वास लिएको बताए। अहिलेको बदलिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतीपूर्ण रहेको बताउँदै वर्तमान समयमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकाले प्रहरी अधिकृतहरू बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्ने हुनुपर्नेमा उनले जोड दिए।

प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबैभन्दा माथिल्लो प्रवेशबिन्दुमा दिइने आधारभूत प्रहरी तालिम भएकाले प्रतिष्ठानले विशेष अभिरुचि र प्रभामिकताका साथ हेर्ने गरेको बताउँदै निमित्त प्रहरी महानिरीक्षक थापाले तालिम मापदण्डबमोजिम सरल, सहज र प्रभावकारी ढंगबाट प्रशिक्षण सञ्चालनको व्यवस्थापन मिलाउन तथा अथक मेहनत, परिश्रम र लगावका साथ कटिबद्ध हुन प्रतिष्ठानमा कार्यरत प्रशिक्षकहरूलाई आग्रह गरे। साथै प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशीलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवं आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमीकमजोरीलाई आफैंले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिमसम्बन्धी जानकारी दिएका थिए। उक्त तालिममा खुला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १० जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३९ जना गरी कुल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको सहभागिता रहेको छ।

पीजीडीपीएससम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा पीजीडीपीएस कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीवविक्रम राणा, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर