सबै जिम्मेवारी स्तरीय ढंगले निर्धारित समयमै पूरा गर्न प्रधानसेनापति शर्माको निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले आफूलाई प्राप्त सबै जिम्मेवारी स्तरीय ढंगले पूरा गर्न निर्देशन दिएका छन्। जंगी अड्डामा आइतबारदेखि सुरु भएको ‘पृतनापति समन्वयातमक बैठक-२०७९’ को सोमबार समापन गर्दै उनले बैठकका सहभागीहरूलाई सो निर्देशन दिएका हुन्।

अनुशासन तथा जवाफदेहिताको महत्त्वबारे सहभागीहरूलाई स्मरण गराउँदै सम्बद्ध निकायहरूसँग प्रभावकारी समन्वय राख्दै प्राप्त सबै जिम्मेवारी स्तरीय ढंगले निर्धारित समयमा पूरा गर्न निर्देशन उनले निर्देशन दिएका हुन्।

समापनको अवसरमा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस बैठकले वर्तमान परिस्थितिको साथै आइपर्न सक्ने चुनौतीहरूको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुग्ने बताएका छन्।

आगामी कार्यहरू थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो बैठक सहयोगी सिद्ध हुने बताउँदै प्रधानसेनापति शर्माले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरूको लागि पृतनापतिहरूलाई धन्यवाद दिए। प्रधानसेनापति शर्माले आगामी दिनहरूमा पृतनापतिहरूले बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाइसम्म प्रभावकारी हुने ढंगले कार्यान्वयनमा लैजान सहभागीहरूलाई निर्देशन दिए।

नेपाली सेना सारा नेपाली जनताको आस्था र भरोसाको धरोहर हो भन्ने कुरालाई मनन गर्दै जनताको यो विश्वासलाई कायम राखिरहन संस्थाका सबैले व्यक्तिगत तथा सामूहिक ढंगले प्रयत्न गरिरहने कुरामा आफू विश्वस्त रहेको उनले बताए।

जंगी अड्डाबाट जारी भएका नीति निर्देशनहरु कार्यान्वयनमा सहजता, सम्बद्ध सरकारी निकायहरूसँगको समन्वयमा सरलता तथा स्रोत साधनको व्यवस्थापन र पहुँचमा सुगमताको आवश्यकता महसुस गरेर सरकारको निर्णयअनुसार ३ जोड १ कमाण्ड अवधारणा कायमै रहने गरेर पुनर्स्थापित पृतनाका पृतनापतिहरूले पृतना पुनर्स्थापना गर्ने निर्णय लक्षित उद्देश्य प्राप्तिमा सहयोगी सिद्ध भएको अनुभव सुनाए।

बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्थालगायत पृतनापतिहरूले प्रधानसेनापतिसमक्ष गरेको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, नेपाली सेनाको दीर्घकालीन सोच-२०८७ कार्यान्वयनको अवस्था, सञ्चालित तालिमहरूको प्रभावकारिता, पृतना पुनर्स्थापना भएपश्चात् कमाण्ड कन्ट्रोल र समन्वयको प्रभावकारिता तथा गत भाद्र महिनामा सम्पन्न कमाण्ड सेनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरूको प्रगति सम्बन्धमा गहन छलफल भएको थियो।

आठवटै पृतनाका पृतनापतिहरूलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरू तथा सम्बन्धित बाहिनीपतिहरूको उपस्थिति रहेको उक्त समन्वयात्मक बैठकमा भएका प्रस्तुतीकरण र उठान भएका विषयवस्तुहरूमाथि भएको गहन छलफल तथा अन्तर्क्रिरयाबाट प्राप्त भएका राय सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देशन गर्ने विश्वास नेपाली सेनाले लिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर