उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेट, रक्सौल-काठमाडौं रेलवेबारे छलफल

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा रक्सौल-काठमाडौं रेलवे निर्माण सम्बन्धमा प्रारम्भिक छलफल भएको छ।

भेटमा भारतीय विदेशसचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर-कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयबारे पनि चासो राखेका थिए। जयनगर-कुर्था रेलको सञ्चालन भारतीय कम्पनी ‘केआरसीएल’ले गर्दै आएको छ। त्यसको म्याद सकिन लागेकाले विदेशसचिव क्वात्राले नवीकरणको विषय उठाएका हुन्।

क्वात्राले रेलवे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने सुझाव दिएका थिए। त्यसो गर्न सके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने उनको भनाइ थियो।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेलवे सञ्चालनका लागि दक्ष बनाउने कुरा सकारात्मक र महत्त्वपूर्ण भएको बताएका थिए। उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वेसहित आर्थिक समृद्धि, नेपाल-भारतबीच भएका सन्धि-सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा पनि कुरा राखेका थिए।

भारतीय विदेशसचिव क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका थिए। जवाफमा श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताए।

श्रेष्ठ र क्वात्राबीच नेपालको आर्थिक समृद्धिको विषयमा द्विपक्षीय वार्ताका माध्यमबाट अघि बढ्नेबारे खुलेर छलफल भएको थियो।

त्यस्तै नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धि-सम्झौताको विषयमा पनि द्विपक्षीय छलफल गरेर अघि बढ्ने छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले यसअघि पनि भारतीय राजदूतसँग रेलवे सेवा तथा भारतद्वारा लगानी भएका विभिन्न आयोजना सम्बन्धमा कुरा उठाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर