वाग्मती प्रदेशमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

बागमती प्रदेश सरकारले आज (मंगलबार)बाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ।

मंगलवारबाट बागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो। अब लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ।

मंगलवार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुगेका बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले विगतमा रहेको लाइसेन्स ट्रायलमा शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरेर अब ७० अंक ल्याए पास हुने व्यवस्था लागू भएको बताए। उनले अन्य प्रदेशमा धेरै अघिबाट यो व्यवस्था सुरु भए पनि बागमती प्रदेशमा भने ढिलो गरी सुरु भएको बताए।

मन्त्री श्रेष्ठले भने- ट्रायल दिँदा हिजोको प्रक्रियामा १०० पूर्णाङ्कमा सय नै ल्याउनुपर्ने जुन व्यवस्था थियो। यो परीक्षार्थीमैत्री भएन, वैज्ञानिक भएन भन्ने लागेर जसरी अरु प्रदेशमा ७० अंक ल्याए पास हुने व्यवस्था छ, ७० अंक ल्याएपछि ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया छ, त्यसलाई हाम्रो बागमती प्रदेशमा पनि सुरु गरेका छौँ, केही ढिला भयो, तर अब सुरु भएको छ। हेटौंडा लगायतका सबै ठाउँमा हामी सुरु गर्छौँ। परीक्षार्थीमैत्री भनेको परीक्षामा सहभागी हुने परीक्षार्थीहरु पास हुनुपर्छ भन्ने भावनाले परीक्षा सञ्चालन गर्नुपर्छ भनेर नै यो व्यवस्था गरेका हौँ। सानो त्रुटिले पनि लाइसेन्स नपाउने, फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने कुरालाई मध्यनजर गरेर यस्तो निर्णय गरेका हौँ । सकेसम्म लाइसेन्स नै लिन नपरे हुन्थ्यो भन्ने भावना सिर्जना भयो भन्ने जनताको बुझाइ थियो। यो प्रणालीमा पनि कतिपय त्रुटि छ, यसलाई हामीले बुझेका छौँ, नबुझीकन लागू गरेका होइनौँ। नयाँ विधि बनाउने कुरामा हामी तत्काल जान सक्दैनौँ। अब भने नयाँ विधिमा जान्छौँ।

त्यस्तै, गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसोर्स सेन्टर प्रालिका सञ्चालक रामनारायण घिमिरेले बाइक र स्कुटरको लागि लुकिङ ग्लास मिलाएको, हेलमेट भाइजर, फिता बाँधेको १० नम्बर छुट्याइएको बताए। उनले ‘एट’मा एक पटक खुट्टा टेकेमा वा एक पटक अंकित रेखा घेरा छोएमा पनि अघि बढ्न पाउने सिस्टम रहेको बताए। त्यसमा ५/५ अंक काटिनेछ। त्यस्तै ‘एट’बाट बाहिर निस्किएपछि न्यारोरोडमा स्कुटी बाइक तल झरेको खण्डमा फेल हुनेछ भने साइड लाइट नबालेको खण्डमा १० अंक काटिनेछ। जेब्रा क्रसिङमा रातो र पहेँलोमा नरोकी अघि बढेमा १५ अंक काटिने छ। यद्यपि हरियो रङको लाइट बलेको बेलामा गए नम्बर काटिने छैन।

स्पिड ब्रेकरमा एकपटक स्टार्ट बन्द भएमा वा एकपटक खुट्टाले छोए ५/५ नम्बर काटिनेछ भने एक पटक भन्दा बढी खुट्टा टेकेमा र स्टार्ट बन्द भएमा स्वतः फेल हुनेछ। उकालोमा अगाडिको घेरा छुन नपाइने, तर एकपटक स्टार्ट बन्द भए वा बाइक ६ इन्चभन्दा पछाडि नगएमा भने प्रक्रिया अघि बढ्नेछ। ओरालोमा पनि अंकित रेखा नछोए अघि बढ्न सकिनेछ। त्यस्तै चार पांग्रे सवारीसाधनको हकमा ‘एट’मा अंकित रेखामा २ पटकसम्म लाइन छोएमा अघि बढ्न सक्ने व्यवस्था छ।

मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था छ।

बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो दोहोरो गोलाकार (एट आकार) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अङ्कित रेखा छोए प्रत्यक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायलमा फेल हुनेछैन।

दुई पटकभन्दा बढी उक्त रेखा छोए सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, एक पटकभन्दा धेरै पटक खुट्टाले भूइँ टेके, ठिक दिशाबाट वा ठिक तरिकाबाट ‘एट’ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तिर्ण भएको घोषणा गरिने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *