मानव अधिकार आयोगलाई बलियो बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताए।

प्रधानमन्त्री दाहालले भने, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानव अधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानव अधिकारको स्थिति के छ  भन्ने कुरा मापन हुन्छ । तसर्थ आयोगलाई शक्तिशाली र साधन स्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्त्व र भूमिका छ।’

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू गम्भीर रहेको जनाउँदै उनले आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानव अधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए। ‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ,’ उनले भने।

भेटमा आयोगका पदाधिकारीहरूले संघीयय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधन स्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको जनाउँदै आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनाबद्ध रूपमा पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर