स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन, दुई कसुरमा १२ प्रतिवादी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा भएको स्पट फिक्सिङको अनुसन्धान सकेको छ । सीआईबीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

सीआईबीका प्रवक्ता एसपी कमल थापाका अनुसार दुई कसुरमा १२ जना संलग्न भएको अनुसन्धान देखिएको छ । ‘प्रतियोगितामा स्पष्ट फिक्सिङ हुने क्रममा राष्ट्रिय खेलकुद विकास ऐनअनुसार भएको देखिन्छ,’ एसपी थापाले पर्दाफासलाई भने, ‘पहिलो, खेलको स्वाभाविक नतिजा फेरबदलको कसुर, दोस्रो, खेलमा मिलेमतो गर्न दुरुत्साहन र मद्दत गर्ने व्यक्तिको कसुर ।’

उनका अनुसार प्रतिवादी १२ जनामध्ये नेपालका राष्ट्रिय तथा पूर्व राष्ट्रिय खेलाडी, आयोजक सेभेन थ्री स्पोर्टस्का पदाधिकारी, मध्यस्थकर्ता तथा बिचौलिया छन् । १२ जनामध्ये ५ जना नेपाली हुन् ।

फिक्सिङको आरोपमा पक्राउ परेका पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम, खेलाडीहरु आदिल आलम अन्सारी, नितेश गुप्ता र सेभेन थ्री स्पोर्टस्का जतिन अहुवालिया, अभिषेक सक्लानी, विनोन धानीलाई सीआईबीले कसुरदार ठहर्‍याएको हो ।

त्यसैगरी विराटनगर सुपर किंग्सका राहुल शर्मा, विराटनगर टिमको कप्तान रहेका वेस्टइन्डिजका खेलाडी एन्ड्री म्याकार्थीले बुकी, काठमाडौं नाइट्सका मालिक नवीन कँडेलसम्मलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी गरिएको छ ।

‘सम्भवतः सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबारसम्म मुद्दा दायर गर्छ होला,’ एसपी थापाले भने । सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन अध्ययन गरिसकेपछि मुद्दा दायर गर्ने जनाएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही समय पहिला भएको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको आशंकामा सीआईबीले अनुसन्धान गरेको हो । सो क्रममा मेहबुब, आदिल, नितेश पक्राउ परेका थिए ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ । यसको व्याख्या गर्दै भनिएको छ, ‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदलाधिकारीले त्यस्तो खेल प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामले प्रतिकूल हुनेगरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन ।’

स्पट फिक्सिङ गरेको पुष्टि भएमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *