नेपाली सेनाको सामरिक लेख रचनाहरूको संग्रह ‘युनिटी जर्नल’को चौथो संस्करण विमोचन

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औं वार्षिक उत्सवका अवसरमा नेपाली सेनाले चौथो पटक प्रकाशन गरेको सामरिक लेख रचनाहरूको संग्रह युनिटी जर्नल चौथो संस्करणको विमोचन गरिएको छ। बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सो संग्रह विमोचन गरेका हुन्।

बौद्धिक वर्ग, प्राध्यापक र शोधकर्ताहरूलाई सहभागी गराई राष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित रही सञ्चालन गरिएको खुल्ला सामरिक लेख रचना प्रतियोगिता–२०७९ का उत्कृष्ट २६ वटा लेख रचनाहरूलाई समावेश गरी उक्त युनिटी जर्नल प्रकाशन गरिएको हो।

२६ जना प्रतियोगीहरूका लेख रचनाहरू समावेश गरी प्रकाशन भएको सो जर्नलमा प्रकाश विष्ट, मानार्थ उपरथी पदमबहादुर सिंह (अवकाश) र डा. हिन्दू संस्कृति कार्कीद्वारा लिखित लेख रचनाहरू क्रमशः प्रथम, द्वितीय र तृतीय भई प्रधानसेनापति शर्माबाट क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ नगद पुरस्कार र कदरपत्र प्राप्त गरेका छन्। विमोचन कार्यक्रममा प्रधानसेनापति शर्माले अन्य लेखकहरूलाई समेत पुरस्कार तथा कदरपत्र प्रदान गरेका थिए।

विमोचन कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, प्राध्यापकहरू, रथीहरू, युनिटी जर्नलका विषयविज्ञ तथा सम्पादकहरू, लेखकहरूलगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो।

यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरूमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर