स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्‍याउने छुट कसैलाई छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले व्यक्तिगत महत्त्वाकांक्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औं वार्षिक उत्सव विविध कार्यक्रमहरूको आयोजना गरी मनाउने क्रममा प्रधानसेनापति शर्माले शुक्रबार सकलदर्जालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

नेपाली सेनाले राष्ट्र र जनताप्रति देखाएको सेवाभाव, निःस्वार्थपन, गैरराजनीतिक चरित्र, व्यावसायिकता, अनुशासन र कर्तव्यपरायणता जस्ता मूल्य र मान्यतालाई कायम राख्दै आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्न सकलदर्जालाई सुझाव उनले दिए।

प्रधानसेनापति शर्माले सुदृढ र सुसंगठित सेना नै राष्ट्रिय हितको संरक्षण र संवर्द्धनको आधारशिला भएको बताए।  उनले आफ्नो योग्यता र क्षमतालाई सैनिक अनुशासनको परिधिभित्र रही युनिट तथा संगठनको हित हुनेगरी सकारात्मक कार्यमा प्रयोग गर्न निर्देशन पनि दिएका छन्।

प्रधानसेनापति शर्माले विभिन्न समयमा नेपाली सेनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय एवं राष्ट्रिय जिम्मेवारीहरू तथा संगठनको आफ्नै आवश्यकता र पहलमा गरिने अन्य कार्यहरू उच्च हौसलाका साथ पूरा गर्न सकलदर्जाले देखाएको तत्परता, पहल र त्यसबाट प्राप्त उपलब्धिले नै नेपाली सेनाको गौरवमय इतिहास र रचनात्मक वर्तमानलाई बचाइराखेको एवं उज्ज्वल भविष्यलाई निर्देशित गरेको बताए।

उनले हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौतीहरू झन्झन् संवेदनशील र पेचिलो बन्दै गइरहेको हुँदा आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको सफलतापूर्वक सामना गर्न सकलदर्जाले पेशागत ज्ञान, सीप र बन्दोबस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइराख्नु आजको आवश्यकता रहेको बताए। उनले नेपाली सेना परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्रराष्ट्रका सेनाहरूसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरू विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कूटनीतिअनुरूप अगाडि बढ्दै गइरहेको उल्लेख गरे।

प्रधानसेनापति शर्माले नेपाल सरकार तथा नेपाली जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यहरूका लागि उच्च पेशागत क्षमता र हौसलाका साथ हरहमेशा तयारी रहनुपर्ने हुँदा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन दिए। साथै उनले राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका युनिटहरूले सुरक्षा प्रणालीको समयसापेक्ष पुनरवलोकन गरी स्थानीय जनतासँग समेत सुमधुर सम्बन्ध कायम राख्दै आफूलाई सुम्पिएको जिम्मेवारी वहन गर्न निर्देशन दिए।

उनले नेपाली सेनालाई सबल, सक्षम र सुदृढ संगठनका रूपमा स्थापित गर्न सबै ढंगले सहयोग गर्ने नेपाली सेनाकी परमाधिपति राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, रक्षा मन्त्रालय लगायत नेपाल सरकारका सबै मन्त्रालयहरू, सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, सञ्चारकर्मी, बुद्धिजीवीवर्ग तथा आम नागरिकलाई धन्यवाद व्यक्त गरे। २६०औं सेना दिवस तथा महाशिवरात्रि-२०७९ को उपलक्ष्यमा देशभित्र र बाहिर अहोरात्र सेवारत सकलदर्जा, नेपाली सेनामा कार्यरत निजामती कर्मचारी, सेवानिवृत्त सैनिक व्यक्ति तथा सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना पनि उनले व्यक्त गरे।

वि.सं.१८१९ मा नेपाली सेनामा ५ वटा कम्पनीहरू स्थायी रूपमा खडा भएको थियो। सोही वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुवाती वर्षका रूपमा लिँदै महाशिवरात्रका दिनलाई सेना दिवसका रूपमा मनाउन थालिएको हो। यस पटकको महाशिवरात्रि तथा सेना दिवस शनिबार मनाइँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर