नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताकाे ट्रफी सार्वजनिक

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा हुने ‘नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता, २०२३’ को ट्रफी सार्वजनिक गरिएको छ। सोमबार दूतावासामा आयोजित एक समरोहबीच प्रतियोगितको आठौं संस्करणको ट्रफी सार्वजनिक गरिएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र दूतावासका उपराजदूत उमर अलीले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्।

नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ। जसमा नेपालका विभिन्न क्लब र एकेडेमीका क्रिकेट टोलीहरू सहभागी हुन्छन्।

प्रतियोगिताको आठौं संस्करण फागुन २६ बाट सुरु हुनेछ। प्रतियोगितमा १२ टोलीको सहभागिता रहनेछ। दूतावासले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ। चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

खेलकुद गतिविधिमा सहभागी हुन नेपालका युवाहरूलाई उत्प्रेरित गर्ने र जनताबीचको सम्पर्कलाई मजबुत बनाउने यस प्रतियोगिताको उद्देश्य रहेको दूतावासले जनाएको छ। यस प्रतियोगिताले नेपालका युवा क्रिकेटरहरूलाई आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास दूतावासले लिएको छ।

उक्त अवसरमा बोल्दै पूर्वकप्तान खड्काले युवा नेपाली क्रिकेटरलाई उत्प्रेरित गर्न पाकिस्तानी दूतावासले गरेको पहलको प्रशंसा गरे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबमा युवा खेलाडीले खेल्ने गरे पनि दूतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको बताए।

खड्काले पाकिस्तानी दूतावासमा रहेको मैदान नेपालमा भएको मैदानमध्येको सेवा सुविधासम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दूतावासमा अवस्थित मैदानलाई पूर्ण रूपको मैदानको रूपमा प्रयोग गर्ने मिल्ने गरी उपलब्ध गराउन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत उमर अलीले नेपाली युवाहरूमा यस वार्षिक कार्यक्रमको बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गरे। उनले स्वस्थ समाजका लागि खेलकुदको महत्त्वलाई जोड दिए।

उनले यस प्रतियोगिताले नेपालका युवा क्रिकेटरहरूलाई आफ्नो सीप निखार्दै नेपालमा क्रिकेटको प्रवर्द्धन गर्न स्वस्थ्य अवसर प्रदान गर्ने विश्वास समेत व्यक्त गरे।

उनले यो प्रतियोगिता नेपाल र पाकिस्तानबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको बताउँदै यस प्रतियोगिताले दुई देशबीचको भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर