प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, राष्ट्रपतिको उम्मेदवारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। बुधबार बिहान भएको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत छैन। एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आएको छ भने माओवादीले यसमा राष्ट्रिय सहमति आवश्यक हुने तर्क गरिरहेको छ। राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउन प्रचण्ड सकारात्मक छन्। राष्ट्रपति एमालेलाई दिने पूर्वसुहमति कार्यान्वयनमा प्रचण्ड विमुख हुन खोजिरहँदा सत्ता साझेदारी नै संकटमा परेको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससमेत छ। यद्यपि नेताहरूको दाबी आफ्नो पार्टीको उम्मेदवार जो हुन्छ त्यसैमा राष्ट्रिय सहमति जुट्छ भन्ने रहँदै आएको छ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रूपमा प्रस्ताव गरेको छ। ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरूले आज कांग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन्।

राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ। निर्वाचनको मिति नजिकिँदै गएकाले दलहरू राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ। त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ। निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर