प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको भेट, राष्ट्रपति चयनमा चासो

नेपालका लागि चिनियाँ राजदूत चेन साेङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । राजदूत सङले आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर दाहालसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति चयनका लागि दलहरुबीच रस्साकसी चलिरहेका बेला राजदूत साेङले राजनीतिक भेटवार्ता तीव्र बनाएका हुन् । उनले शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए । १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता तोकिएको छ ।

नेपालमा वामपन्थी दलबीच एकता र सरकारका लागि चीनले विगतदेखि नै कसर गरिरहेको छ । गत चुनावताका कम्युनिस्ट दलबीच गठबन्धन गराउन चाहेर पनि असफल भएको चीन पछिल्लो समय नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि उत्साहित भएको छ ।

राष्ट्रपति चयनमा पनि अहिले देखिएको विवादमा चीनले चासो राखेर सक्रियता बढाएको हो । केही महिनाअघि नेपाल आएका साेङले प्रधानमन्त्री दाहालसँग दोस्रोपटक भेटवार्ता गरेका हुन् । यसअघि २ माघमा उनीहरूबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले चीनले १४ चैतदेखि १७ गतेसम्म आयोजना गर्ने बोआओ फोरममा आमन्त्रण गर्न राजदूतले प्रधानमन्त्रीलाई भेटेको जनाएको छ । यद्यपि, यसअघि नै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि नेपाल आई प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो दिएका छन् । तर, प्रधानमन्त्रीको भारत र चीन भ्रमणबारे हालसम्म निर्णय भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर