राष्ट्रपति निर्वाचनको सरगर्मीबीच चिनियाँ राजदूतको दौडधुप

नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचनको सरगर्मी बढिरहेका बेला चिनियाँ राजदूत चेन सोङ सक्रिय भएका छन् । राष्ट्रपति चयनका लागि दलहरूबीच रस्साकस्सी चलिरहेका बेला राजदूत सोङले राजनीतिक भेटवार्ता तीव्र बनाएका हुन् ।

यही दौरान राजदूत सोङले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

शुक्रबार सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका उनले बुधबार प्रचण्ड र नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग उनले भेट गरेका थिए । दिउँसो नेपालसँग उनको निवास कोटेश्वरमा भेट गरेका हुन् ।

नेपालमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता तोकिएको छ । चिनियाँ राजदूतले भेट गरेका नेताहरूको सचिवालयले नेताहरूसँगको भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको भने पनि राष्ट्रपति निर्वाचनकाे सम्मुखमा चिनियाँ राजदूतको सक्रियतालाई यसैसँग जोडेर हेरिएको छ ।

नेपालमा वामपन्थी दलबीच एकता र सरकारका लागि चीनले विगतदेखि नै कसर गरिरहेको छ । गत चुनावताका कम्युनिस्ट दलबीच गठबन्धन गराउन चाहेर पनि असफल भएको चीन पछिल्लो समय नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि उत्साहित भएको छ । राष्ट्रपति चयनमा पनि अहिले देखिएको विवादमा चीनले चासो राखेर सक्रियता बढाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर