पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु हुँदैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका हुन्।

उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्न उचित नहुने बताए। उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे। महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखे।

‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔंं भनेको हो । तर, फेरि म साथीहरूको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनै पनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु। त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिसक्नुभएको छ। त्यसकारण उहाँहरूसमेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ।’

महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए। ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उनले बताए। राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा आउनुपर्ने उनले बताए।

उनले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताए। संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसद्को पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उनले बताए।

त्यस्तै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हितको दृष्टिले अनिवार्य भएको बताए। उनले कांग्रेसको राष्ट्रपति भएमा सबै प्रकारका शक्तिहरूको संयोजन गर्न सक्ने बताए। उनले कांग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर