सैनिक कमाण्ड तथा स्टाफ तालिममा यी हुन् उत्कृष्ट घोषित शिक्षार्थी

प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमहरूले मुलुकको परिस्थितिलाई समेत प्रभावित गरिरहने भए तापनि नेपालको सिमानाभित्र नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा वैशाख ०५ गते शुरु भएको सि.सं. २९ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहलाई गर्दै प्रधानसेनापतिले अगाडि भने, ‘नेपाली सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारीहरु संविधानबाटै निर्देशित हुनुको साथै स्वदेशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बहुआयामिक चरित्रका छन् ।’

नेपाली सेनाका ३ जना महिलासहित ८० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १÷१ जना गरी ३ जना अधिकृतहरु तथा श्रीलङ्का, केन्या, नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका १÷१ जना गरी ९ जना विदेशी अधिकृतसहित जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरुले उक्त तालिम सम्पन्न गरी आज दीक्षित भएका हुन् ।

वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११२०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरुका १०८ गरी जम्मा १,२८६ जना शिक्षार्थी अधिकृतहरु प्रशिक्षित भएका छन् ।

उक्त तालिमको रणनीतिक अध्ययनमा मास्टर्स (एमएसएस) कार्यक्रम विषयको सोधपत्र अर्थात् कमाण्डेन्ट्स पेपरतर्फ सेनानी विक्रम खड्का, एमएसएस प्रोग्रामतर्फ सेनानी रविन गुरुङ तथा समग्र तालिममा सेनानी उज्ज्वल गोतामे सर्वोत्कृष्ट शिक्षार्थी भएका छन् । यसैगरी पाकिस्तानी सेनाका मेजर मोहम्मद मुबिन चीमा ले उत्कृष्ट अन्तर्राष्ट्रिय अधिकारी पुरस्कार प्राप्त गरेका छन् । दीक्षान्त समारोहका दौरान प्रधानसेनापति महारथी शर्माले सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार (उत्कृष्ट विद्यार्थी पुरस्कार) प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन ‘द शिवपुरी जर्नल’ को २४ औं संस्करण विमोचन गरेका थिए ।

सोही क्रममा एमएसएस प्रोग्रामतर्फ प्रथम शिक्षार्थीलाई त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक डा. शिवलाल भुषाल र कमाण्डेन्ट्स पेपरतर्फ प्रथम भएका शिक्षार्थीलाई शिक्षाधिकृत उपरथी सन्तोषकुमार ढकालले नगद तथा पुरस्कार प्रदान गरे । दीक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई प्रधानसेनापति शर्मा र प्राध्यापक डा. भुषालले प्रमाणपत्र वितरण गरेका थिए ।

कलेजका शिक्षाधिकृत उपरथी सन्तोषकुमार ढकालको स्वागत मन्तव्यसहित शुरु भएको समारोहमा दीक्षित भएका अधिकृतहरुलाई बधाई दिँदै प्रधानसेनापतिले तालिमको दौरान प्राप्त ज्ञान र अनुभवको समुचित सदुपयोग गर्दै आफू मातहतका कमाण्डर तथा जवानहरूलाई सहि मार्गनिर्देशनसहित आ–आफ्नो संस्था एवं राष्ट्रको हितमा उपयोग गर्न सुझाव पनि दिए ।

उक्त कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आवद्ध महानुभावहरु, कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका रथी तथा अधिकृत र शिक्षार्थी अधिकृतहरुका परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर