ओलीले प्रचण्डलाई भने- ठूलो कचौरामा दूध भात दिएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गरेका छन्। अध्यक्ष ओलीले ठूलो कचौंरामा दूध भात दिएपछि बिरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताए।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरि राख्ने गरेकाले जे पनि गर्ने जिकिर गरे। उनले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा देश र जनताको पक्षमा काम गर्न आफू र आफ्नो पार्टी खेदिएको पनि बताए।

ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्साका लागि संविधान संशोधन गर्दा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नभएको भए त्यसलाई प्रमाणीकरण गर्ने कुरा सम्भव हुने थिएन समेत भने। उनले राष्ट्रपति एमालेका उम्मेदवार सुवाष नेम्वाङलाई मतदान गर्न पनि संघ र प्रदेशका सबै सांसदहरूलाई आह्वान गरे।

राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउनुपर्ने ओलीको भनाइ थियो।

‘मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिनँ। जसको पद नै सर्वोपरि छ, त्यस्तालाई पद दिएर जसलाई जे दिँदा हुन्छ त्यही दिएर न हुने हो। त्यसकारण त्यही दिएर हुन्छ भने त्यही दिएर। त्यही पनि ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन। के–के छन सर्त थाहा छैन । पछि थाहा हुँदै जाला।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको, धोका दिएको पनि बताए। प्रधानमन्त्री दाहालले शहीद, घाइते परिवारलाई समेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताए। उनले प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाए।

ओलीले दाहालले बेवास्ता गरेका जनयुद्धका घाइतेहरुलाई आफ्नो पार्टीले उपचार गर्ने बताए। आफ्नो पार्टीले हेल्थ डेस्क नै राखेर उनीहरूलाई सकेको उपचार गर्ने उनको भनाइ थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर