अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताएका छन् ।

नेपाली सेना जंगी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वार्टरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै उनले सेनाका विषयमा आमजनमानस दिग्भ्रमित हुनेगरी कपोलकल्पित र झुठा टीकाटिप्पणीप्रति सचेत र सजग रहनुपर्ने बताएका हुन् ।

प्रधानसेनापति शर्माले सेनाप्रति हुने यस्ता अनर्गल प्रचारबाजी र सेनाप्रति लक्षित अनेक किसिमका अफवाहको पछि नलाग्न र बुझेर मात्र कुरा गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराए । ‘हामी अराजनीतिक ढङ्गबाट काम गरिरहेका हुन्छौँ र सेनालाई स्खलित बनाउने विभिन्न किसिमका दिग्भ्रमित टीकाटिप्पणी सार्वजनिक गरेर बाटो बिराउन अनेकन कोसिस भएको हुन्छ,’ उनले भने, ‘यसतर्फ कसैले पनि विश्वास नगर्नु होला जानेर यथार्थ के हो भन्ने बुझी अघि बढ्नु तपाईंहरुको पनि कर्तव्य हो ।’

अवकाशप्राप्त जीवनमा पनि सेनाको रक्षाकवच एवं सेनालाई जनताको समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुका रूपमा राष्ट्रले लिएको बताउँदै प्रधानसेनापति शर्माले सोहीअनुसार अवकाशप्राप्त सेनाले इज्जतका साथ काम गरेर समाजलाई अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सैनिक मूल्यमान्यता र अनुशासन पालना गरी सेवामा रहँदा प्राप्त गरेको ज्ञान, सीप र कलाको अधिकतम सदुपयोग गर्दै राष्ट्र सेवामा समर्पित हुन उनले आग्रह गरे । सीमित साधन स्रोतका बाबजुद पनि सेवा निवृत्त नेपाली सेना र आश्रित परिवारको सामाजिक तथा आर्थिक जीवनस्तर सुधार गर्नेगरी कार्यक्रम ल्याइएको जानकारी दिँदै प्रधानसेनापति शर्माले शिक्षा स्वास्थ्य र स्वारोजगारमूलक कार्यक्रमका लागि सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेकाले यसबाट अधिकतम लाभ लिन अनुरोध गरे ।

बलाध्यक्ष रथी सीताराम खड्काले नेपाली सेनाभित्र अपनत्वको भावना जागृत गराउन सम्मेलन सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे । उनले सेना सबैको शक्ति र सम्पत्ति भएको बताउँदै कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबाट लाभ लिन अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारलाई अनुरोध गरे ।

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले शिक्षा, स्वास्थ्य र सीपमूलक तालिमका लागि सहयोग प्रदान गर्दै आएको बताउँदै उद्यमशील क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।

अवकाशप्राप्त सैनिकका तर्फबाट प्रादेशिक रथी नेपाल भुषण चन्दले काल्याणकारी कोषमार्फत परिमार्जित र परिस्कृत ढङ्गबाट कार्यक्रम ल्याएको बताए । सेना भूतपुर्व सैनिक सङ्घका महासचिव श्यामसुन्दर घिमिरेले यस किसिमको सम्मेलनले भूतपूर्व र बहालवाला सैनिकबीच सामिप्यता ल्याई सम्बन्ध विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

कार्यक्रममा मध्यपश्चिम पृतनाअन्तर्गतका सात जिल्ला अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रूपन्देही नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्तापूर्वबाट करिब चार हजार अवकाशप्राप्त भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्ति भरणमा रहेका सदस्यको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर