एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ का लागि मंगलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।

आयोजक एनएसजेएफले मंगलवार एक कार्यक्रमको आयोजना गरी वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधा गरी कुल चार विधाको मनोनयन सार्वजनिक गरेको हो । स्पोट्र्स अवार्ड फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।

सार्वजनिक गरिएको मध्ये वर्षको उत्कृष्ट पुरुष खेलाडीको सूचिमा क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलरद्वय अञ्जन बिष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल अटाएका छन् । यस्तै महिलातर्फको मनोनयनमा क्रिकेटरद्वय सीता राना मगर र कप्तान रुबिना क्षेत्री, भलिबलकी अरुणा शाही, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन् । वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी र प्रिती राई तथा बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा अटाएका छन् ।

यसैगरी वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका पूर्व प्रशिक्षक डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट रहेका छन् । यसअघि एनएसजेएफले पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामा परेका छन् ।

फागुन २३ गते आयोजना हुने अवार्ड कार्यक्रमबाट विजेताको घोषणा गरिनेछ । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीको लागि गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा गठित कमिटीबाट विभिन्न चार विधाका खेलाडीको नाम सार्वजनिक गरिएको हो । विजेताको नाम फागुन २३ गते हुने अवार्डमा सार्वजनिक गरिनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर