प्रदेश १ काे प्रदेश सभा बैठकमा प्रदेश नामकरणकाे प्रस्ताव पेस हुँदै

प्रदेश १ को नामकरणका लागि बुधबार बस्ने प्रदेश सभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरिएको छ।

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिका सदस्य एवं नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बुधबार बस्ने प्रदेश सभा बैठकमा प्रदेशको नाम राख्ने प्रस्ताव पेस गर्ने तयारी रहेको जानकारी दिए।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले आन्तरिक सहमति गरेर प्रदेशको नामकरणको प्रस्ताव प्रदेश सभामा पेस गर्ने तयारी गरिएको हो। प्रदेश सभा सचिवालय स्रोतका अनुसार दलहरुले आन्तरिक सहमति गरेर प्रदेशको नाम ‘कोशी’ राख्ने तयारी गरिएको छ।

अघिल्लो प्रदेश सभाको कार्यकालमा प्रदेशको नाममा सहमति जुट्न नसक्दा नामाकरणको प्रस्ताव थाँती राखिएको थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकल बहुमतयुक्त सरकारको नेतृत्व गरेका शेरधन राईकै पालामा प्रदेशको नामाकरण प्रस्ताव पेस गर्ने तयारी गरिएको थियो। तर, नामको विषयमा सहमति जुट्न नसक्दा अगाडि बढेन।

प्रदेश १ को नाम यसअघि किरात प्रदेश, सगरमाथा प्रदेश र कोशी प्रदेश राख्नुपर्ने विकल्प अगाडि सारिएको थियो।

प्रदेशको नाम प्रदेश सभामा कायम सदस्य संख्याको दुई तिहाई मतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। दुई तिहाइका लागि ६३ जना सांसदको समर्थन (मत) आवश्यक पर्छ। प्रदेश सभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *