रक्षा क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई सेनाको अभिमुखीकरण

नेपाली सेनाले रक्षा क्षेत्रमा क्रियाशील २० जना सञ्चारकर्मीलाई अभिमुखीकरण दिएको छ।

नेपाली सेनाबारे जानकारी दिँदै सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने हेतुले विभिन्न सञ्चारमाध्यमका २० जना संवाददाताहरूलाई सेनाले अभिमुखीकरण दिएको हो।

फागुन १४ गतेदेखि कैलालीस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टरमा सुरु भएको ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी)’ शुक्रबार सम्पन्न भएको हो।

उक्त कार्यक्रममा संवाददाताहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा प्रस्तुतीकरण तथा अन्तर्क्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका इलाकाहरूको भ्रमण गराइएको थियो।

सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी, पृतनाका अधिकृतहरू र नेपाल टेलिभिजनका कार्यकारी दृश्य सम्पादक मिश्रीलाल यादवको उपस्थिति रहेको थियो।

देशका विभिन्न भागमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उद्देश्यले पृतनाहरूको समन्वयमा यस किसिमको कार्यक्रम आयोजना हुँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर