महिलाहरूले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउनुपर्छ : उपाध्यक्ष अर्याल

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन् ।

मंगलबार राष्ट्रिय महिला आयोगको २१औँ स्थापना दिवस तथा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरू चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन् ।

उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद् सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताइन् । नेपालमा पुरुषको भन्दा महिलाहरूको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरू ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सीमित हुन नहुने बताइन्।

उपाध्यक्ष अर्यालले राज्यका निकायहरूको प्रमुख पदहरूमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरूमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन्। उनले महिलाहरूलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताइन्। उनले प्रत्यक्षतर्फ महिलाहरूलाई ५० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरणसमेत हुने बताइन्।

उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरूलाई पुर्‍याउनुपर्ने बताइन्। हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरूको भूमिका हुन नसकेको भन्दै उनले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताइन्।

उनले राष्ट्रिय महिला आयोगले भुइँ तहका महिलाहरूको लागि काम गर्नुपर्ने बताइन्। उनले भुइँ तहका महिलाहरूलाई परेका पीरमर्का र समस्या समाधानका लागि काम गर्न महिला आयोगलाई आग्रह गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर