उपप्रधानमन्त्री श्रेष्ठ र युरोपेली संघकी आयुक्तबीच दोहामा भेटवार्ता

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र अति कम विकसित देशहरू (एलडीसी) को अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (ईयू) की आयुक्त जटा अर्पिलाइनबीच भेटवार्ता भएको छ।

कतारको दोहामा आयोजित एलडीसीको सम्मेलनका क्रममा उनीहरूबीच मंगलबार भेटवार्ता भएको हो। भेटमा नेपाल र ईयूबीचको पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ।

एलडीसीको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ फागुन १९ गते दोहा गएका थिए। फागुन २१ देखि सुरु सो सम्मेलन २५ गते सकिँदैछ। उपप्रधानमन्त्री श्रेष्ठ भने त्यसअघि नै स्वदेश फर्किएका छन्।

सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ सहभागी भएका हुन्। यस वर्ष एलडीसीको अध्यक्षतासमेत ग्रहण गरेको थियो। यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत सहभागी थिए।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिएका थिए। त्यस्तै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गरेका थिए।

यसअघि यो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भनिएको थियो। तर, बदलिँदो राजनीतिक परिस्थिति, २५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा गएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *