कांग्रेस र एमालेको सरकार नबन्ला भन्न सकिँदैन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए।

उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन।,’

उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन गर्नसक्ने अपेक्षा राखेको बताए।

उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर विरोध भएको उल्लेख गरे।

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण रुपमा काम गरेको दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर