राष्ट्रपति निर्वाचन-२०७९

राष्ट्रपति पौडेलले लिए निर्वाचित भएको प्रमाणपत्र

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचित भएको प्रमाणपत्र लिएका छन् ।

बिहीबार भएको निर्वाचनमा पौडेल विजयी भएपछि उनलाई संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मतदान गरे ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद् र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसद्का ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुकबाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर