माधव नेपालले प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाए : ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाएका छन्। विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको अध्यक्ष ओलीको आरोप छ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको पनि बताए। अध्यक्ष ओलीले दुई तिहाइ पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको बताए।

खेलाडीहरूलाई पनि फउल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे। निरन्तरको इमानदार प्रयासबाट मात्रै खेलाडीहरूले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोहीअनुसार अघि बढ्न खेलाडीहरूको ध्यानाकर्षण गराए।

अध्यक्ष ओलीले भने, ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं। फउल खेल्नेहरूले दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए। दुई तिहाइको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए। विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरूलाई बुझाउने दुष्चेष्टा गरे। सबै गरे। तर, तिनीहरूले वास्ताविक सफलता हासिल गर्न सकेनन्। क्रिएशनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नुपर्दछ। श्रेष्ठता हासिल बेइमानीले हुँदैन। इमानदार प्रयासबाट हुन्छ। त्यसकारण मैले सुरुमै भने सफलताको पुँजी, सफलताको रहस्य इमानदार प्रयास हो।’

अध्यक्ष ओलीले एम्बाप्पे, मेसीजस्ता खेलाडीहरू नेपालमा पनि हुनसक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए। उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वाससमेत व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर