‘ए’ डिभिजन लिग : थ्री स्टारको पहिलो जित

खुमलटार युथ क्लवलाई हराउँदै ललितपुरे टोली थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।  ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार युथ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो । थ्री स्टारको जितमा अजयी मार्टिन्सले दुई गोल गरे ।

पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब बनाएर खेले पनि स्कोर गर्न भने असफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको थ्री स्टारका लागि ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए ।

यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो । जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ । यसै सिजनमा बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।

लिगमा शनिबार तीन खेल हुनेछन् । दिनको पहिलो खेल च्यासल मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब, दोस्रो खेल दशरथ रंगशालामा एपिएफ क्लब र जावलाखेल युथ क्लब तथा अन्तिम खेल साँझ दशरथ रंगशालामा नै फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *