सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्। सोमबार पद्योदय विद्यालयको हीरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्ट रूपमा सम्बोधन गर्न लागेको बताए। उनले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताए।

उनले शैक्षिक पाठ्यक्रमको पुनरवलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान प्रविधिमैत्री र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरूपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताए। उनले यसका निम्ति नीतिगत, कानूनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको बताए।

प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वांगीण विकासको आधारस्तम्भ भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर