सत्ता गठबन्धन १० टाउके रावण हो, यसले भयंकर विध्वंस मच्चाउँछ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन्।

उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रूपमा चित्रित गरे। उनले १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर विध्वंस मच्चिने दाबी गरे।

उनले सत्ता गठबन्धनप्रति इंगित गर्दै अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए। अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरू चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए।

अध्यक्ष ओलीले नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उठाएको पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना प्रवल रहेको बताए। उनले १० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाए।

उनले निार्वचन आयोगलाई समेत गठबन्धनले उपराष्ट्रपति पदमा महिला हुनु नपर्ने भन्न प्रयोग गरेको आरोप लगाउँदै अझै अन्य संस्थाहरू पनि प्रयोग गर्नसक्ने बताए। उनले जित्ने आधारहरू रहे पनि बोल्नु वाञ्छनीय नहुने बताए।

उनले गठबन्धनभित्र धेरै प्रकारका समस्या रहेको तर एमालेभित्र कुनै समस्या नरहेको जिकिर गरे। उनले अहिले राष्ट्रिय राजनीतिमा अरू सबै दल एकातिर र एमाले एक्लै एकातिर भइरहेको भए पनि त्यसलाई नराम्रो मान्नु नपर्ने बताए। उनले बहुदलीय व्यवस्थामा १० थरी १० तिर हुनुभन्दा १० थरी एकै ध्रुवमा समाहित हुन राम्रो रहेको बताए।

अध्यक्ष ओलीले १० दलका नेताहरूको मानसिकता डरलाग्दो रहेको बताए। उनले १० दलीय गठबन्धनलाई प्रतिगामी शक्तिको संज्ञा दिए।

उनले अहिलेको गठबन्धन अघि जाने नभई पछि सर्ने काम गरिरहेको बताए। उनले यसअघि संवैधानिक मुख्य पदहरूमा एक महिला र एक पुरुष हुनुपर्ने अभ्यास गरिसकेको र संविधानले पनि सोही कुरा उल्लेख गरे पनि प्रतिगामी शक्तिका कारण संविधानतः उपराष्ट्रपतिका लागि काम हुन नसकेको जिकिर गरे।

अध्यक्ष ओलीले देशको पहिलो र दोस्रो सम्मानित पदमा एक महिला र पुरुष हुनुपर्ने कुरा उचित रहेको बताए। उनले आन्दोलनको उचाइलाई पार्टीले तल खस्न नदिने दाबी गरे। उनले दक्षिणपन्थी गठबन्धनले दक्षिणपन्थताको पनि अनुदार विचार र व्यवहारतिर देशलाई धकेल्न खोजेको आरोप लगाए।

अध्यक्ष ओलीले सामान्य रूपमा नेकपा एमालेको शक्ति कमजोर भए पनि उपराष्ट्रपतिमा एमालेबाट उम्मेदवार शाक्यले नै जित्नुपर्ने बताए। उम्मेदवार शाक्य पराजित हुनु भनेको अहिलेसम्म महिलाहरूले पाएका उपलब्धि र सामाजिक न्याय तथा समानताको आन्दोलनबाट प्राप्त उचाइलाई पछाडि फर्काउनु रहेको बताए। उपराष्ट्रपतिमा शाक्यलाई जिताउन लाग्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर