नेपाल प्रहरी र भक्तवीरसिंह तुलाधर फाउण्डेशनबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी सम्झौता

नेपाल प्रहरी र भक्तवीरसिंह तुलाधर फाउण्डेशनबीच ‘नेपाल प्रहरी–भक्तवीरसिंह तुलाधर फाउण्डेशन छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।

समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र भक्तवीरसिंह तुलाधर फाउण्डेशनको तर्फबाट फाउण्डेशनका अध्यक्ष राजेशवीरसिंह तुलाधरले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा भक्तवीरसिंह तुलाधर फाउण्डेशनका अध्यक्ष राजेशवीरसिंह तुलाधरले अक्षयकोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सम्झौताका लागि भक्तवीरसिंह तुलाधर फाउण्डेशनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । भक्तवीरसिंह तुलाधर फाउण्डेशनले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा समेत नेपाल प्रहरी र भक्तवीरसिंह तुलाधर फाउण्डेशनबीच आपसी सहयोग आदानप्रदान हुने उल्लेख गरे ।

उक्त अवसरमा भक्तवीर सिंह तुलाधर फाउण्डेशनका अध्यक्ष राजेशवीरसिंह तुलाधरले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । साथै आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उनले उल्लेख गरे ।

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेका नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाशप्राप्त र अमर/शहीद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिहरूलाई कम्तीमा २ जना जेहेनदार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।

छात्रवृत्ति प्रदान गर्नका लागि कम्तीमा २५ लाख रुपैयाँ भक्तवीरसिंह तुलाधर फाउण्डेशनले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–भक्तवीरसिंह तुलाधर फाउण्डेशन छात्रवृत्ति अक्षयकोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूलगायत भक्तवीरसिंह तुलाधर फाउण्डेशनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर