राहुल गान्धीले भने- म सावरकर होइन गान्धी हुँ र गान्धीले माफी माग्दैन

भारतीय कांग्रेसका नेता राहुल गान्धी लोकसभाको सदस्यता खारेज भएपछि शनिबार पहिलोपटक मिडियामा देखा परे। शनिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अडानी समूहसँगको सम्बन्धलाई लिएर फेरि एकपटक कडा प्रश्न उठाए।

पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र व्यापारी अडानीबीचको सम्बन्धलाई लिएर बारम्बार आरोप लगाए। उनले अडानी समूहका कम्पनीहरूबाट प्राप्त रकमको बारेमा पनि प्रश्न उठाएका छन्।

उनले भने, ‘मेरो सदस्यता रद्द गरियो किनभने प्रधानमन्त्री मेरो अर्को (सम्भावित) भाषणबाट डराउनुभएको थियो। उहाँ अडानीमाथि हुने अर्को भाषणबाट डराउनुभएको थियो। मैले यो उहाँको आँखामा देखेको थिएँ। उहाँ यो चाहनुहुँदैन थियो कि यो भाषण संसदमा होस्।’

उनले मोदी र अडानीबीच घनिष्ट सम्बन्ध रहेको आरोप लगाए। उनले भने, ‘त्यसैले पहिले (संसदको कार्यवाही) बाधा लगाइयो। अहिले सदस्यता रद्द गरिएको छ। कृपया यसलाई लिएर भ्रमित नहुनुहोस्। नरेन्द्र मोदी र अडानीबीच घनिष्ठ सम्बन्ध छ।’

आफ्नो बयानलाई लिएर अदालतमा माफी माग्ने सवालमा उनले भने, ‘म सावरकर होइन, म गान्धी हुँ र गान्धीले माफी माग्दैन।’

पत्रकार सम्मेलनमा उनी केही प्रश्नमा उग्र पनि बने। उनले एक पत्रकारको नाम लिएर खनिँदै भने, ‘मलाई पहिला आफ्नो कुरा गर्न देऊ।’

त्यही क्रममा उनले अर्का एक पत्रकारलाई यदि बीजेपीलाई समर्थन गर्ने भए बीजेपीको बिल्ला लगाएर आउन र आफैंलाई पत्रकार नभन्न भने।

यसको जवाफमा बीजेपीले पनि पत्रकार सम्मेलन गरेर राहुल गान्धीले लगातार झुट बोलेको आरोप लगाएको छ।

भाजपा नेता रविशंकर प्रसादले झुट बोल्नु राहुल गान्धीको स्वभाव भएको बताएका छन्। उनले राहुल गान्धीले विदेशमा सधैं भारतको अपमान गरेको आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा राहुल गान्धीले अदालतको निर्णयबारे कुनै पनि टिप्पणी गर्न अस्वीकार गरे र यो मुद्दा अदालतको भएकाले यसबारे नबोल्ने बताए। -बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर