सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि

प्रोफेसनल गल्फर एशोसिएशनको आयोजनामा हुन लागको सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि हुने भएको छ । काठमाडौंमा सोमबार प्रोफेसनल गल्फर एशोसिएशनले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारबाट शुक्रबारसम्म आयोजना हुने जनाएको हो ।

रोयल नेपाल गल्फ क्लबमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी कुल ३८ खेलाडीले सहभागिता जनाउने संघका महासचिव दीपक आचार्यले बताए ।

प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायतका खेलाडीले सहभागिता जनाउनेछन् । नेपालका नम्बर एक शुक्र राईले भने भारतमा रहेका कारण प्रतियोगिता गुमाउने छन् ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी तेस्रोदेखि दशौं स्थान हासिल गर्नेले क्रमशः ४६, ३८, ३४, ३०, २७, २४, २२ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर