मिटरब्याजपीडितसँग वार्ता गर्न समिति गठन, प्रधानमन्त्रीले भेट्ने

सरकारले मिटरब्याजपीडितहरूसँग वार्ता गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो।

वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल रहेका छन्।

वार्ता टोलीले मिटरब्याजपीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ।

समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषदको बैठकमा छलफल हुनेछ।

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानूनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषदको बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ।

पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसचिव र सचिवालयका पदाधिकारीलाई पीडितरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए।

पीडितहरूसँग वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर