‘सफा हिमाल अभियान-२०२३’ को ध्वजारोहण

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने ‘सफा हिमाल अभियान, २०२३’ को थालनीको रूपमा मंगलबार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच ध्वजारोहण समारोह सम्पन्न भएको छ ।

उक्त अभियानका निर्देशक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा अभियान अगुवाबाट समग्र अभियान संचालन सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण सहित शुरु भएको उक्त समारोहमा प्रधान सेनापति महारथी श्री शर्माले गत वर्ष सम्पन्न ‘सफा हिमाल अभियान, २०२२’ मा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै अभियानका अगुवाहरूलाई अभियान झण्डा हस्तान्तरण गरी कार्य सफलताको शुभकामना व्यक्त गरे ।

समारोहमा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेङ शेर्पा, बौद्ध गुरु ङवाङ लोजाङ यसी ग्याछोक रिन्पोचे, रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिवहरू, बलाधिकृत, बलाध्यक्ष, रथी, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरू, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, पर्वतारोहण क्षेत्रका प्रतिष्ठित महानुभावहरू तथा ‘सफा हिमाल अभियान, २०२३’ का साझेदार संघसंस्थाका पदाधिकारीहरू एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रा.लि., युनिलिभर नेपाल, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, रोटरी क्लब अफ नागार्जुन, एभरेष्ट लिंक, अनुसन्धान तथा दिगो विकास केन्द्र आदि संघसंस्थाहरूको प्राविधिक सहयोग रहेको छ ।

‘हिमालय बचाउने प्रयास’ मूल नाराका साथ सञ्चालन हुने उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोरहरू संकलन गर्ने लक्ष्य लिइएको छ ।

नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवसमा समापन हुने उक्त अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर