सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैंका लागि अन्त्य गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडितको समस्यालाई स्थायी रूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । आज बिहान मिटरब्याजपीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए ।

मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानून अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ,’ उनले भने ।

मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्नसक्ने तथा न्यायिक अधिकार प्रयोग गर्नसक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरे । ‘त्यो प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग ‘र्‍यापिड एक्सन फोर्स’ जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु ।’

मिटरब्याजपीडितको समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पार्टी अध्यक्षको हैसियतमा रहेका बेलासमेत मिटरब्याजीमाथि कारबाहीका लागि पहल गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर