सस्ताेमा अमेरिकी डलर सटही गरिदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

नेपाली रुपैयाँसँग सस्तोमा अमेरिकी डलर सटही गरिदिने भन्दै ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्रेको छ । काठमाडौं उपत्यकाभित्र विभिन्न छ स्थानमा नक्कली अमेरिकी डलर देखाउँदै लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

धादिङ घर भई हाल ललितपुरको चापागाउँ बस्ने ३२ वर्षीय सुरेश कोइराला, धनकुटा घर भई हाल काठमाडौँको भंगाल बस्ने ३२ वर्षीय दिपक दमाई, सिन्धुपाल्चोक घर भई हाल गोकर्ण नाम्गेल बस्ने २४ वर्षीय विकास तामाङ र २८ वर्षीय साजान तामाङसहित नयाँबस्ती बस्ने धनबहादुर तामाङ प्रहरी हिरासतमा पुगेका छन् ।

उनीहरूले नक्कली अमेरिकी डलर देखाई सस्तोमा सटही गर्ने भन्दै उपत्यकाका साँघुरा गल्ली, पातलो मानवबस्ती भएको स्थानमा बोलाउने गरिएको पाइएको छ । ५, १०, २० दरका नक्कली डलरलाई नेपाली नोटको आकारको कागजलाई रुमालमा पोको पारेर पीडितसँग भएको लाखौँ रुपैयाँ लुटपाट गर्दै आएको तथ्यका आधारमा प्रहरीले पक्रेको जनाएको छ ।

हालसम्म उपत्यका र उपत्यकाबाहिर समेत गरी विभिन्न छ वटा यस्तै प्रकृतिका ठगी घटनामा उनीहरुको संलग्नता रहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुगमनको क्रममा हिजो उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका पाँचै जनालाई ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको निम्ति जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *