विदेशमा मृत्यु भएका नेपालीको बीमा रकम ठगी गरेको अभियोगमा नासुसहित ७ जना पक्राउ

रोजगारीको क्रममा विदेशमा मृत्यु भएका नेपालीहरूको बीमाबापतको रकम ठगी गरेको अभियोगमा प्रहरीले एउटा गिरोहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बासहित ७ जना छन्।

आफूहरू ठगिएको भन्दै दुई जनाले उजुरी गरेपछि प्रहरीले यस विषयमा अनुसन्धान थालेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी, रोशी-१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी-८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार उनीहरूले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको पाइएको छ। प्रक्रिया मिलाएर उनीहरूले बीमितको आधाभन्दा बढी रकम आफैं खाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानले नासु अधिकारीले मृत्यु भएका व्यक्तिबारे जानकारी दिने र अन्यले मृतकका आफन्तसम्म पुगेर बीमा रकम दिलाइदिने प्रलोभन देखाएर ठगी गर्ने गरेको खुलाएको छ।

प्रहरीले उनीहरूको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरूको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिसलगायतका कागजात बरामद गरेको छ।

पक्राउ परेका सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर