जनमत पार्टीका सांसद खानलाई निलम्बन गर्न माग

राष्ट्रिय एकता अभियानले अश्लील भिडियो सार्वजनिक भएपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।

सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री पनि हुन्। जनमत पार्टी सरकारबाट बाहिरिएपछि उनले हालै राजीनामा दिएका थिए।

शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अभियानले उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो।

सांसद खानले कुनै महिलासँग भर्चुअल अश्लील कार्य गरेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक शेयर भइरहेको छ। सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापनपत्रमा उल्लेख गरेको छ।

‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य-दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवं समग्र राजनीतिक प्रणालीकै शिर निहुरिएको छ।’

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

‘सांसद खानको यस हर्कतले भने समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको छ। उहाँ सजायको भागिदार हुनुहुन्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ, उहाँलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारबाही अगाडि बढाउन हामी सम्माननीय सभामुख महोदयलाई हार्दिकतापूर्वक अनुरोध गर्दछौं।’

यता सांसद खानले भने आफू अन्यायमा परेको भन्दै अनुसन्धानका लागि प्रहरी गुहारेका छन्। उनले केही दिनअघि प्रहरीको साइबर ब्यूरोमा अनुसन्धानका लागि निवेदन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर