पाकिस्तानमा प्रहरीको गाडीमा बम विष्फोट, २ प्रहरीसहित ४ को मृत्यु, १५ घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा सोमबार भएको विस्फोटमा दुई प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएकाे प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

क्वेटा जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक जुहाइब मोहसिनले विष्फोट क्वेटाको कन्दहारी बजारको मिजान चोक क्षेत्रमा नियमित गस्तीमा रहेको प्रहरीको गाडीमा भएको बताएकाे समाचार संस्था सिन्ह्वाले जनाएकाे छ।

उद्धार टोली, प्रहरी र सुरक्षा बलले घटनास्थल पुगेर विष्फोटमा मृत्यु र घाइते  भएकाहरूलाई उद्धार गरी अस्पताल लगेका थिए।

बलुचिस्तानको स्वास्थ्य विभागका मिडिया संयोजक वसीम बेगले चार शव र १५ घाइतेलाई अस्पताल लगिएको बताए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्वास्थ्य अधिकारीले बताएका छन्।

मोटरसाइकलमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको प्रहरी अधिकारीले जानकारी दिए। विष्फोटमा तीनदेखि चार केजी विष्फोटक पदार्थ प्रयोग भएको र विष्फोटबाट दुईवटा गाडी, धेरै मोटरसाइकल र नजिकका पसलमा क्षति पुगेको प्रहरी अधिकारीले जानकारी दिए।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गर्दै आतंककारीहरूको नराम्रो योजनालाई ध्वस्त पारिने बताएका छन्।

स्थानीय रक्षा विश्लेषकहरूले बम आक्रमण देशको उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रमा आतंककारीहरूविरुद्ध चलिरहेको अपरेशनको प्रतिक्रिया हुन सक्ने बताएका छन्।

यसअघि शुक्रबार पाकिस्तानको उच्च सुरक्षा समितिले देशमा आतंकवादको खतरालाई मेटाउनको लागि सर्वत्र व्यापक अपरेशन सुरु गर्ने घोषणा गरेको थियो।

*यसअघिकाे समाचार हामीले राससबाट लिएका थियाैं। उक्त समाचारमा त्रुटि फेला परेकाले सच्याएका छाैं। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *