सेनानी केशवबहादुर थापाको कमाण्डमा १६३ जना शान्ति सैनिक मध्य अफ्रिकी गणतन्त्र प्रस्थान

नेपाली सेनाले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा  तैनाथ शान्ति सैनिकको अदलीबदली गरेको छ।

बुधबार मिसनमा तैनाथ जबरजंग गण उच्च तयारी सुरक्षा बटालियन (एचआरपीबी) चौथो डफ्फा (मेन बडी) र सैनिक प्रहरी युनिट सातौं डफ्फा (रेनफोर्स) लाई बदली गर्नका लागि भवानीबक्स गण, पाँचौं डफ्फा र सैनिक प्रहरी युनिट, आठौं डफ्फाका १६३ जना सैनिकहरूको अन्तिम टोली मिसन इलाका प्रस्थान गरेको छ। टोलीको नेतृत्व सेनानी केशवबहादुर थापाले गरेका छन्।

इथियोपियन एयरलाइन्सको विमानमार्फत उनीहरू बुधबार मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रमुख सेनानी रीतबहादुर रानाभाट नेतृत्वको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरू यसअगावै मिसन इलाकामा पुगिसकेका छन्।

यस्तै उक्त मिसनमा तैनाथ जबरजंग गण, चौथो डफ्फा र सैनिक प्रहरी युनिट, सातौं डफ्फाका १६२ जना सैनिकहरू प्रमुख सेनानी राजेशविक्रम शाहीको नेतृत्वमा बुधबार नै स्वदेश फिर्ता भएका छन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाले द्वन्द्वरत विभिन्न देशहरूमा शान्ति सैनिक पठाउँदै आएको छ। शान्ति मिसनमा फौज योगदान गर्ने देशहरूको वरीयतामा नेपाल दोस्रो स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर