‘सैनिक आचारसंहिता कार्यक्रम-२०८०’ सुरु

‘सैनिक आचारसंहिता कार्यक्रम-२०८०’ मंगलबारदेखि सुरु भएको छ। कार्यक्रमको बलाध्यक्ष रथी सीताराम खड्काले उद्घाटन गरेका हुन्। कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ।

नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सुसूचित गरी अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राखिरहने एवं सैनिक आचारसंहिता संग्रह-२०७६ मा उल्लेखित विषयहरूमा प्रशिक्षित गर्ने उद्देश्यअनुरूप कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बलाध्यक्ष रथी खड्काले सैनिक आचारसंहिता कार्यक्रम-२०८० बाट नेपाली सेनाको सबै तहका कमाण्डरलगायत तल्लो तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि हुनुका साथै एकआपसमा विश्वासको वातावरण सिर्जना भई नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिकवान र व्यावसायिक फौजको रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले संविधानप्रदत्त जिम्मेवारीलाई निसंकोच र प्रभावकारी ढंगबाट वहन गर्नका निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशील बनाउन अपरिहार्य रहेको बताए।

सकलदर्जालाई आफ्नो आचरण मर्यादित र व्यावसायिक बनाउनका निमित्त यस कार्यक्रमले सघाउ पुग्ने साथै सैनिक सदस्यहरू सबैले स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रही कार्यसम्पादन गर्न अपरिहार्य रहेको बताए।

नेपाली सेनाका रथी, अधिकृत, पदिक तथा अन्य दर्जाहरूको सहभागिता रहेको सो कार्यक्रम बुधबार प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा समापन हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर