रवि लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज

सरकारले राष्ट्रिय परिचयपत्रबारे तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आबद्धतासम्बन्धी बनेको कार्यविधिमा व्यक्तिगत डाटा र राज्यको सुरक्षाका कुराहरू निजी कम्पनीलाई दिने पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले गरेको निर्णय खारेज गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले तत्कालीन गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनका लागि निजी कम्पनीलाई ठेक्का दिने गरी स्वीकृत गरेको कार्यविधि खारेज गरिएको बताइन्। उनले उक्त कार्यविधिका विषयमा अध्ययन गर्नका लागि छुट्टै समिति बनाउने सरकारले निर्णय गरेको पनि बताइन्।

मन्त्री शर्माले सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको बताइन्। उनले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन्।

उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनका लागि मन्त्रिपरिषदले भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्।

प्रवक्ता शर्माले काठामाडौं–तराई/मधेस फास्ट ट्र्याकमा पर्ने खोकना जग्गासम्बन्धी समस्या समाधान गर्न रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय भएको बताइन्। उनले उक्त समस्या समाधान गर्न समितिलाई तीन महिनाको समय दिएको पनि बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *