स्वर्णिमप्रति लक्षित गर्दै विश्वप्रकाशले भने- कांग्रेसबाटै पहिचान बनाएकाहरूले कांग्रेसलाई बिर्से

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरूले कांग्रेसलाई भुल्न नहुने बताएका छन्।

नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका-३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरूले नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए। स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले साे कुरा बताएका हुन्।

‘कांग्रेसबाट अवसर लिएकाहरूले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ। आज मातातीर्थ औंशी पनि हो। जसले पहिचान र अवसर दियो त्यो पनि आमासरह नै हो,’ महामन्त्री शर्माले भने।

महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभई सधैं सम्मान गर्नुपर्ने बताए। ‘एक दिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन। आमा त भगवान् हुन्, सधैं सम्मान गर्नुपर्छ,’ शर्माले भने।

महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेको चर्चा गर्दै भने, ‘उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो। तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्नँ, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो। उहाँमा मातृभूमिप्रति सम्मान छ।’

महामन्त्री शर्माले संसद नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसदमा पुर्‍याएर उनमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए।

सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसदमा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाए। आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उनले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर