प्रचण्ड-माधव नेपालहरूले सस्तो मूल्यमा बिकेर कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपालहरूले सस्तो मूल्यमा बिकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुई तिहाइको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड-माधव नेपालहरूले सस्तोमा बिकेर त्यसलाई ध्वस्त बनाएको ओलीको आरोप छ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनीहरू कतिमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरूले नबुझेको समेत बताए। ओलीले कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दाबी गरे।

उनले भने,‘कुनै पनि कम्युनिष्टहरू हाम्रै पार्टीबाट गएका हुन् है। प्रचण्ड कहाँबाट गएका? यही कम्युनिष्ट पार्टीबाट ऐँजरु पलाएझैं पलाएको त हो नि। २००६ सालमा कहाँ दुई, तीनवटा पार्टी बनेको थियो र। यो पार्टी त पछिसम्म एउटै थियो। दुइ तिहाई पुर्‍यायौँ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर। पार्टी एकता र एकीकरण गरेर। तर टुप्पामा बस्ने नेताहरूलाई सहीसक्नु भएन। र उनीहरू बिके। यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। कुनै कारणबिना कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा, के कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो। बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौँ। तर भित्री कुरा हामीलाई थाहा छैन।’

ओलीले प्रचण्ड र माधव नेपालहरूले कम्युनिष्ट पार्टीको झण्डा बोकेर हिँड्नु बेकार रहेको टिप्पणीसमेत गरे। उनले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्षभित्र मुलुकबाट गरिबी समाप्त पारिदिने बताए।

२५ वर्ष भित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाइ थियो। ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यसमा केन्द्रित भएर लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर